दमक, असार २० । झापा, सुनसरी, धनकुटा र उदयपुर जिल्लाबाट प्रहरीले लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध नियन्त्रण गर्ने कार्ययोजना अनुसार सम्बन्धित क्षेत्रमा परिचालित प्रहरी टोलीले १४ ग्राम ७५४ मिलिग्राम ब्राउन सुगर र ६० किलो ६५ ग्राम ७२० मिलिग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुबाहक बसबाट गाँजा बरामद गरेको छ।
धनकुटा पाख्रीवास नगरपालिका–८ का ४६ वर्षीय भीमबहादुर राईले सिटमुनि लुकाएर राखेको झोलाबाट ७ केजी गाँजा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।










