दमक,२४ असार । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलाबाट बाढी आएको विभागको भनाइ छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको बताएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिनु भयो । विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशंका गर्नु भएको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मङगलबार भोटेकोशी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नु भएको छ ।
विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।
मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म मुलुुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिनु भएको छ । तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताउनु भयो ।










