दमक, २४ असार । धनकुटामा खेतमा काम गर्न गएका १ जना युवाको मृत्यु भएको छ । बाटोमा गम्भीर घाइते अवस्थामा भेटिएका युवाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धनकुटाको पाख्रीबास नगरपालिका–६ का अन्दाजी ३२ वर्षीय दीपक रोक्काको मृत्यु भएको हो । उनका अनुसार रोक्का गत आइतबार काम गर्नका लागि भनेर पाख्रीबास–८ स्थित खेतमा गएका थिए ।
तर, उनी घर फर्किएनन् । धानखेतमा काम गर्न गएका रोक्का नफर्किएपछि आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए । बाटोमा हिँड्ने क्रममा पाखाबाट लडेर घाइते भएको अवस्थामा भेटेर उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी प्रहरीले प्राप्त गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी बाटोदेखि करिब १० मिटर तल खसेको खुलेको छ । घाइते अवस्थामा भेटिएका उनको टाउकोमा गहिरो चोट थियो । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताउनु भयो ।










