दमक,२६ असार । मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो । बरामद गरेर तौल गर्दा गाँजा ८ सय २ किलो रहेको उहाँले बताँउनु भयो ।
अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीको भनाइ छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।
गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजा बरामद गरेको प्रहरीले यसको धन्दामा संलग्नलाई भने नियन्त्रणमा लिन सकेको छैन । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।










