दमक,२७ असार । धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटक चहलपहल उल्लेख्य रूपमा वृद्धि हँदै गएको छ ।
धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै आएको छ ।
गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । धरान, इटहरी, झापा, चितवन, काठमाडौँजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थल जस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ । पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहलपहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयले बताएका छन् ।










