झापा २८ असार । देशमा केही भएन भनेर हतोत्साहित हुनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
झापाको कनकाई नगरपालिकाले आयोजना गरेको दलित भुमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै उहाले प्रश्न गर्नु भयो सुरुङ्गा पहिला यस्तै थियो ? आफ्नै ठाउँमा उभिएर चारैतिर फर्केर हेर्नुस त हिजो र आजमा के केमा कस्तो कस्तो परिवर्तन भएको छ, महसुस गर्नुहुने छ ।
शिक्षा, स्वास्थ, पुर्वाधारमा भएको परिवर्तन सबैकासामु रहेको भन्दै यी सबै कुरालाइ परिवर्तन मान्न आवश्यक रहेको र देशमा केही भएकै छैन भन्ने अफवाहको पछि लाग्न नहुने उहाको भनाई थियो ।
देशमा परिवर्तन गराउन नै देशका मुख्य दुई ठूला दल एमाले र कांग्रेसको समीकरणमा सरकार बनेकोले वर्तमान सरकार देश र जनताको हक हितमा काम गरिरहेको समेत उहाले दावी गर्नु भयो । यसैको एउटा अवसर आज यहाँ भुमिहीन सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्ने काम गरिएको उहाको प्रष्टोक्ति छ ।










