दमक,२८ असार । धनकुटामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो १ किशोरको मृत्यु भएको छ । चौबिसे गाउँपालिका–२ धपडतालमा घटना भएको हो ।
पोखरीमा डुबेर चौबिसे–१ का १७ वर्षीय अभिषेक आलेमगरको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताउनु भयो । उहाँका अनुसार पौडी खेल्ने क्रममा आलेमगर डुबेर बेपत्ता भएको खबर दिउँसो ३ः३० बजेतिर प्राप्त भएको थियो ।
त्यसलगत्तै प्रहरी चौकी मुढेवासबाट असई गोपाल राई र इलाका प्रहरी कार्यालय राजारानीबाट इन्स्पेक्टर प्रमोद खड्का नेतृत्वको टोलीले खोजतलास सुरु गरेको थियो । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा दिउँसो ४ः५५ बजेतिर शव फेला परेको डीएसपी खनालले बताउनु भयो ।
उहाँका अनुसार कानुनी प्रक्रिया पूरा गरी पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।










