दमक,९ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१७ का १ जना युवकको भारतमा रेलबाट खसेर मृत्यु भएको छ । २४ वर्षीय सनम राईको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा पटनास्थित अस्पतालमा शुक्रबार बिहान ३ बजेतिर निधन भएको परिवारले बताएको छ । दिल्लीतर्फ जाँदै गर्दा राई बिहीबार बिहान रेलबाट खसेर घाइते भएका थिए ।
मृतकको शव पोस्टमार्टपछि शुक्रबार नै नेपाल ल्याउने तयारी गरिएको परिवारले बताएको छ । राई गत बुधबार छिमेकी दीपक राईसँगै काम गर्न दिल्लीतर्फ हिँडेका थिए ।
घटना हुँदा दीपक साथमा नरहेको र उनको मोबाइल पनि ‘अफ’ रहेको परिवारले बताएको छ । मृतकका परिवारले सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिर र नागरिकता देखेर घटनाका बारेमा थाहा पाएको बताएका छन् ।










