दमम | १९ साउन | राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको परीक्षामा सहभागीमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
२०८१ सालको परीक्षामा कूल ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९६ हजार ३४७ जना नियमिततर्फ र १ लाख १४ हजार ६४० जना आंशिकतर्फका विद्यार्थी रहेका छन्। नियमिततर्फ २ लाख ४२ हजार ४६५ जना र आंशिकतर्फ ४१ हजार ८४० जनाले ग्रेड प्राप्त गरेका छन्।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ६१.१७ प्रतिशत र आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।
यस वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या उल्लेख्य छ। १३ हजार ५०२ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म प्राप्त गरेका छन्। यस्तै, सबैभन्दा बढी ९४ हजार २६८ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन्।









