विराटनगर, २० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गर्नुभएको छ।
आज झापाको गौरीगञ्ज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरण गर्नुभएको हो। गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो।
सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो। संस्थाको सहयोगमा मोरङको सुनबर्सी ६ मा रहेको गजादर माविमा पनि आजै मुख्यमन्त्री कार्कीले १० जना विद्यार्थीलाई साइकल वितरण गर्नुभयो।
सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको स्रोत थोरै भएपनि केही न केही विद्यालय र सामुदायिक क्याम्पसहरूमा सहयोग गरेर काम गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो’ प्रदेशको सामर्थ्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रदेश सरकारले काम गरिरहेको छ।, मुख्यमन्त्री कार्की आज उहाँको निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गौरीगञ्ज पुग्नुभएको थियो।









