दमक,२१ साउन । झापामा रुखमा बाधेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान झापाको झापा गाउँपालिका– १ लसुनामा आँपको रुखमा बाधेको अवस्थामा स्थानीय ६० वर्षीय जतन सोरेन मृत फेला परेको प्रहरीले जनाएको छ ।
अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेको स्थानमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडु पक्राउ परेका छन् ।
उनीहरुमाथि अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य भने फरार रहेका छन् । फरारको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।







