पथरी, ९ कार्तिक / मोरङ जिल्लाको एउटा ऐतिहासिकस्थल । जो अहिले पर्यटन प्रवद्र्धनको लक्ष्यमा अघि बढिरहेको छ ।
जिल्लाको दक्षिणपूर्वी क्षेत्रको सुनवर्षी नगरपालिकामा अवस्थित कमलै कमल फूल्ने ‘कमलपोखरी’ यसबेला पर्यटक आकर्षित गर्ने तरिकाको खोजीमा छ । एउटा उपायस्वरुप इन्जिनबाट चल्ने डुंगा अर्थात मोटरबोट सञ्चालन गरेर आफूप्रति आकर्षण थप्दैछ ।
पूर्वपश्चिम मुख्य सडकको पथरी बजारबाट १३ किलोमिटर दक्षिणमा र दक्षिणको रंगेलीबाट १३ किलोमिटर उत्तरमा सुनवर्षी १, केचना (शुक्रबारे) मा अवस्थित कमलपोखरी एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिमसार क्षेत्र हो । असार साउनमा फूल्ने फूलको आकर्षणले तान्छ । जहाँ पानीमाथि पोखरी नै ढाकेर कमलको फूल तैरिएको दृष्यले जो कोहीको मन लोभ्याउछ । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको प्राचीन प्राकृतिक पोखरी क्षेत्रमा १ महिना अघिबाट मोटरबोट सञ्चालन गरेर आन्तरिक पर्यटकलाई आकर्षित बनाइरहेको छ । दसैंको समयमा मोटरबोटमा चढेर आनन्द लिनेहरुको संख्या ह्वात्तै बढ्न पुग्यो ।

प्रति व्यक्ति २ सय ५० रुपैयाँ टिकट लिएर ९ सिटको मोटरबोटमा चढ्न मोरङ र झापाको विभिन्न क्षेत्रबाट विशेषगरी युवा पुस्ताहरु आउने र रमाउने गरेका छन् । इटहरी सुनसरीका सचिन भट्टराई सो क्षेत्रको कमलै कमलको पोखरीले आकर्षकस्थल देखिएको रमाइलो अनुभव सुनाउनु हुन्छ । स्थानीय युवा अभिषेक श्रेष्ठ मोटरबोटमा सरर पानीमा तैरिन पाएकोमा खुब खुसी देखिनुहुन्छ । ‘यस्तो रमाइलो गर्न टाढा पुग्नुपर्थ्यो, तर यही रमाइलो गर्न पाइयो । दामी लाग्यो ।’ पथरी शनिश्चरे नगरको स्वास्थ्य सेवामा कार्यरत सुमिरा लिम्बूले पनि साथीहरुसँग बोट सयर गरेर खुबै आनन्द लिएको प्रतिक्रिया दिनुभयो ।
कमल फूलको संरक्षण गर्दै सो क्षेत्रको प्रचार प्रसारमा मद्धत पुर्याएर पर्यटक आकर्षित गर्न स्थानीय केही युवाहरु मिलेर मोटरबोट सञ्चालनमा ल्याइएको त्यसका सञ्चालकमध्येका मनिष राईले उल्लेख गर्नुभयो ।
बीच भागमा कमलको फुललाई जोगाउँदै पोखरीको छेउ छेउको भागबाट बोट चलाउने काम गरिएको छ । यसअघि २ वटा पाइडल बोट पनि सञ्चालनमा ल्याइएको थियो ।
आवादको अवस्थादेखि स्थानीय मंगलसिंह माविले संरक्षण गर्दै आएको सो पोखरीमा प्रशस्त मात्रामा रैथाने कमलका फूलहरू फुल्ने भएकाले यसको नाम ‘कमलपोखरी’ रहन गएको स्थानीय ज्येष्ठ नागरिकहरुको भनाइ छ । त्यहाँ माछापालन समेत गरिएको छ । वि.सं. २०२६ सालमा स्थापना भएको विद्यालयले परापुर्वकालदेखि संरक्षण गरेर जोगाएको सो जग्गा हाल पर्यटकीय महत्वको क्षेत्र बनेको छ । पर्यटकीय क्षेत्र नगरपालिका मातहत रहने भनेपनि त्यसको आम्दानी विद्यालयलाई समेत दामासायीमा राखिनुपर्ने विद्यालय प्रधानाध्यापक संचलाल लिम्बूको धारणा छ ।

पोखरीको केही मात्रामा अतिक्रमण समेत भएको देखिन्छ । यसको संरक्षण र प्रवद्र्धनमा सरकारी पक्षबाट समेत केही योजना बनेको र केही बजेट विनियोजन गरिएको भएपनि त्यसलाई थप व्यवस्थित बनाउन बाँकी छ । वरिपरी वनभोजस्थल बनाउन सक्दा थप आकर्षण बढ्ने देखिन्छ ।
पोखरी परिसरमा किरात समुदायको साकेला थान र किरातेश्वर मन्दिर, दुर्गा मन्दिर र शिव मन्दिर पनि छन् । यसले राजवंशी, धिमाल, किरात, पहाडी समुदाय सबैको आस्थाको केन्द्र बनाएको छ । लोपोन्मुख अवस्थाको कमल फूल हिन्दु, बौद्ध, किरात र जैन धर्ममा पनि पवित्र फूलका रुपमा लिने गरिन्छ भनें पोखरीको चक्रीय प्रणाली जोगाउन यसको महत्व रहेको उल्लेख छ ।









