दमक,२१ साउन । मोटरबाट सिंचाई गर्दा झापाको गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति गौरादह नगरपालिका ४ जोरघरे बस्ने स्वर्गीय ललित नेम्वाङकी श्रीमती ५४ वर्षीया चन्द्रमाया नेम्वाङ आफ्नै घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
घटनास्थलमै मृत्यु भई लडिरहेको अवस्थामा उनका छोरा २५ वर्षीय सुशील नेम्वाङले देखेर शव घरमा ल्याई राखेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृत टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । मोटरबाट सिंचाई गर्दा यसअघि कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो ।







