डडेल्धुरा,१२ भदौ। डडेल्धुरामा जिप दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको सनाखत भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका–५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ कलावी साउद रहेका छन्।
घाइते भएका ६ जनाको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । १८ वर्षीया सुशिला विक, ४ वर्षीय प्रतिमा पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते भएका हुन । जिप सडकबाट २५० मिटर तल खसेको हो। दुर्घटनाको कारण भने खुलिसकेको छैन।










