दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्नुभएको छ।पतञ्जली योग दमक नगर समितिको सहकार्यमा सिवाको परिवारले दमकस्थित मानव उद्धार सेवा समाजमा आश्रित असहाय ज्येष्ठ नागरिक तथा अशक्त बालबालिकालाई एक छाक भोजन गराएको हो। सिवाले आमा तुलसा सिवा र श्रीमती जितु लिम्बुसहित परिवारको तर्फबाट सहयोग उपलब्ध गराउनुभएको हो।
आफूले विगतमा भोगेको अभाव र दुःख सम्झिँदै आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभएका सिवाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।पतञ्जली योग दमक नगर समितिका अध्यक्ष किरण उप्रेतीले विदेशमा रहेर पनि आफूले बिताएको ठाउँ र असहाय व्यक्तिहरूलाई नबिर्सिएकोमा सिवा तथा उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभएको छ।मानव उद्धार सेवा दमकका अध्यक्ष सुमन श्रेष्ठका अनुसार नगरपालिका, वडा कार्यालय र देश–विदेशका सहयोगीहरूको साथले संस्थाले ३० देखि ३२ जनालाई आश्रय दिँदै आएको छ।
विगतको दुःखलाई सम्झिएर असहायको सेवामा जुट्नुभएका सिवाको यो पहलले प्रवासमा रहेका नेपाली तथा भुटानी समुदायलाई समेत मानव सेवामा प्रेरित गर्ने विश्वास गरिएको छ। यो कार्यक्रम सम्पन्न गर्न पतन्जली योग समिती दमकका सचिव रमेश दाहालले समन्वय र सन्चालन समेत गर्नुभएको थियो ।










