सुनसरी,१६ भदौ । सप्तकोशी नदीमा पानीको सतह उच्च हुँदै गएपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ ।नदीमा पानीको सतह बढ्दै गएपछि सतर्कता अपनाइएको हो । आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५ सय ६० क्युसेक पुगेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनु भयो ।
उहाँका अनुसार आइतबार दिउँसो २ बजे प्रतिसेकेन्ड १ लाख ७४ हजार ३ सय ७५ क्युसेक पानीको प्रवाह मापन हुँदा ब्यारेजका ५६ ढोकामध्ये २३ ढोका खोलिएको थियो । पछिल्लो मापन अनुसार ३१ ढोका खोलिएको डीएसपी खतिवडाले बताउनु भयो ।
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने प्रावधान छ । सोही अनुसार कन्ट्रोल रुमले रातो बत्ती बालिएको बताएको छ ।










