काठमाडौँ,१९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा प्लेटफर्महरू निष्क्रिय हुने बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै एमाले उपमहासचिव समेत रहनु भएका रिमालले अदालतको आदेशसमेतका कारण दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताउनु भएको छ ।
सामाजिक सञ्जाल शीघ्र दर्ता भई प्रयोगमा फर्किने उहाँको अपेक्षा गर्दै उहाँले भन्नु भएको छ्, ‘सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन् ।’ रिमालले लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकृत हुनुपर्ने भन्दै हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बन्नुपर्ने पनि बताँउनु भएको छ ।
‘सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्ट्याटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?’, रिमालको प्रश्न छ ।









