काठमाडौँ ,१९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निष्क्रिय भएका सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत हुन आएमा तत्कालै सक्रिय गराउन निर्देशन दिएको छ।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्देशनबमोजिम सूचीकरण हुन नआएका त्यस्ता प्लाटफर्म निष्क्रिय गर्न दिइएको निर्देशनसँगै मन्त्रालयले सूचीकृत हुन आएमा तत्कालै सक्रिय गराउन भनेको छ ।
मन्त्रालयले दिएको ७ दिनको समयसीमाभित्र सूचीकरणका लागि नआएका २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। जसमा फेसबुक, युट्युब, एक्सलगायत रहेका छन्।
‘सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरूको मूल्यांकन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ,’ मन्त्रालयले सूचनामा लेखेको छ, ‘उक्त आदेश परिपालनाका लागि मिति २०८२। ०५।०९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ७ दिनको म्याद दिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकरण गर्नका लागि मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समयसीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ।’










