दमक,२६ भदौ । जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरुले झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएको प्रहरीले पुष्टि गरेको छ । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाइ भगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनु भएको छ ।
त्यसैगरी विराटनगर महानगरपालिका– ३ मा रहेको बाल सुधार गृहबाट भागेका १५६ ‘बाल बिज्याइँकर्ता’लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधार गृहमा रहेका कुल २५५ जनामध्ये करिब ५१ जना बाहिर नभागी भित्रै बसेको जनाएको छ । बुधबार बिहान १० बजेतिर बाल बिज्याइँकर्ताहरू सुधार गृहको मुख्य गेटको ताल्चा फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई लछारपछार गर्दै भागेको बताइएको छ ।
घटनालगत्तै फरार भएकाहरूको खोजी तथा नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । फरार रहेका अन्यको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ । स्थानीय बासिन्दाहरूले पनि फरार भएका केहीलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका छन् । विराटनगरस्थित यो बाल सुधार गृहको क्षमता ५० जनाको मात्र भए पनि हाल त्यहाँ २ सय ५५ जनालाई राखिएको छ, जसमध्ये एक सय २४ जना १८ वर्ष नाघिसकेकाहरू छन् ।
क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएकाले व्यवस्थापनमा चुनौती हुँदै आएको छ। यसअघि पनि यस सुधार गृहमा झडप तथा भाग्ने प्रयासका घटनाहरू भएका थिए। ४८ जना भने अझै फरार रहेको र तिनीहरूको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइनु भयो । सुधार गृहबाट भागेका केही बाल बिज्याइँकर्ताले भने होटलमा गएर अब हामी नै सेना हो भन्दै धम्क्याएर खाने कुरा खाएका थिए । केहीले हातबाट फोन समेत खोसेर भागेका थिए ।









