झापा,२७ भदौ । भारतले पुर्वी नेपालसंग जोडिएको पानीटंकीस्थित रानीगञ्ज नाका अनिश्चित कालको लागि शिल गरेको छ । नेपालको पूर्वी नाका काँकरभिट्टासंग जोडिएको सीमा नाकाको आवागमन अवरुद्ध हुँदा दैनिक जीवनदेखि व्यापार व्यवसायसम्म ठप्प भएको छ ।
नेपालमा सोमबारदेखि जेनजी पुस्ताको आन्दोलन चर्किएको थियो । आन्दोलन दुई दिन उग्र हुँदा झापासहित देशैभर तहसनहस अवस्था भयो । यसको असर सीमावारीदेखि सिमापारीसम्मका क्षेत्रमा परेको छ । आन्दोलन उग्र बन्दै गएपछि नेपालको मुख्य स्थलमार्ग काँकरभिट्टा–रानीगञ्ज नाका पुर्ण रूपमा बन्द गरिएको छ ।
आन्दोलनकारीले पुर्व पश्चिम राजमार्ग (निर्माणधिन एशियन हाइवे) अवरुद्ध गर्दै मेची भन्सार कार्यालयलगायत अधिकांश सरकारी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए । त्यस्तै सीमा नाका तर्फ जाने सवारीसाधन समेत अवरुद्ध गरेपछि प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै आवागमनमा रोक लगाएको जनाएको छ ।
भारतले नाका शिल गरेपछि उपचार गर्न जाने नेपालीसंगै सिमावर्ती शहरमा व्यापार व्यवसाय, अध्ययन र रोजगारीका लागि जानेहरूलाई समस्या भएको बताउँछन् ।
यो नाका दैनिक रूपमा उपचारका लागि भारत जाने बिरामीहरूको प्रमुख मार्ग मानिन्छ । सीमा बन्द भएपछि बिरामी बोकेर भारत जानेहरू सास्ती खेपिरहेका छन् भने, भारतमा अध्ययन गर्ने विद्यार्थीहरू समेत नियमित कक्षा छोड्न बाध्य भएका छन् ।
नाका शिल भएसंगै भारततर्फबाट आयात हुने तरकारी, नुन, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीजस्ता वस्तुको आपूर्ति रोकिँदा बजारमा अभाव देखिने अवस्था छ । त्यस्तै नेपाली उत्पादन निर्यातमा समेत समस्या सृर्जना भएको व्यवसायीहरू बताउँछन् ।
अहिलेको विशम् परिस्थितिमा बिशेषगरी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सीमा क्षेत्रमा बाक्लो रूपमा खटाइएको छ । त्यस्तै आवश्यकता अनुसार नेपाली सेना समेत फिल्डमा उत्रिएको छ । नेपाल प्रहरीका अनुसार नाकाबाट आपत्कालीन बाहेक आवागमन बन्द भएको छ ।
यता भारतको सुरक्षा निकायले सिमा संवेदनशीलतालाई हेरेर पश्चिम भारतसंग सिमा जोडिएका नेपाली नाकाहरू बन्द गरिएको जनाएको छ । नेपालको वर्तमान अवस्था साम्य नहुनजेल पश्चिम बंगालस्थित पानीटंकी रानीगञ्ज नाका शिल गरिएको भारतको पश्चिम बंगालको सिमा सम्बन्धि प्रहरी अधिकारी एडीआईजी अजय नन्दले बताएका छन् ।
नाका बन्द हुँदा सीमावर्ती बस्तीमा बस्ने सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक रूपमा काम, किनमेल वा उपचारका लागि सीमा पार गर्नेहरू अहिले ठप्प भएका छन् । नाका बन्द गरि प्रशासनले सुरक्षालाई कडाइ गरे पनि नागरिकलाई ठूलो असुविधा परेको छ आन्दोलन उग्र बन्दै गएपछि मंगलबार बिहानैदेखि आन्दोलनकारीले सडक अबरुद्ध गर्दै रानीगञ्ज हुँदै जाने सवारीसाधन रोके । प्रशासनले अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै आवतजावतमा पूर्ण रोक लगाएको हो ।









