विराटनगर,२७ भदौ । जेनजी आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयमा २४ गतेदेखि मालसामानको आवागमन ठप्प हुँदा करिब नेपाल र भारततर्फ ९ सय भन्दा बढी मालवाहक ट्रकहरु रोकिएको छ ।
यसैबीच, बजारमा अत्यावश्यक वस्तुको माग बढेको र केही नासिने वस्तु बिग्रन थालेपछि भन्सार कार्यालयले शुक्रबार देखि अत्यावश्यक तथा नासिने वस्तुको जाँचपास सुरु गरेको हो।
भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले विशेषगरी पेट्रोलियम पदार्थ (एलपी ग्यास) र तरकारी, फलफूलजस्ता नासिने वस्तुहरुको जाँचपास सुरु गरिएको जानकारी दिनु भयो । लामो समयदेखि भन्सारमा रोकिएका कारण केही नासिने वस्तुहरु बिग्रन थालेको भन्दै व्यवसायीहरुले गुनासो गरेपछि यो निर्णय लिइएको हो। भन्सारमा निकासीका लागि ल्याइएको एक ट्रक बन्दा बिग्रिएको उहाँले बताउनु भयो ।
भन्सार कार्यालयले काम सुचारु गर्न तयारी अवस्थामा रहेको बताए पनि व्यवसायीहरुले आफ्ना मालवस्तु सुरक्षित रुपमा गन्तव्यमा पुग्ने सुनिश्चित नभएको भन्दै डिक्यलेर गर्न आनाकानी गरिरहेका छन्। भन्सार प्रमुख श्रेष्ठका अनुसार व्यवसायीले मालवस्तु डिक्यलेर (घोषणा) नगरेसम्म भन्सार प्रक्रिया अगाडि बढाउन सकिँदैन। यसले गर्दा भन्सार प्रशासन तयार भए पनि पूर्ण रुपमा काम अगाडि बढ्न सकेको छैन।
आन्दोलनका क्रममा भन्सार कार्यालयमा सामान्य क्षति भएको उहाँले जानकारी दिनु भएको छ । उहाँका अनुसार, भन्सारको गेटमा आगजनी भएको थियो भने बैंकमा लुटपाट भएको छ। यद्यपि, बैंकबाट पैसा भने लुटिएको छैन। समग्रमा भएको क्षति सामान्य रहेकाले भन्सारको काममा कुनै अवरोध नहुने बताइएको छ।
विराटनगर भन्सार कार्यालयको नेपाली भूभागमा करिब ४०० मालवाहक ट्रकहरु लाइनमा रहेका छन्। सोही घटना भएको दिन भारतबाट जाँचपासका लागि तयार भएका १५० भन्दा बढी गाडी अझै भारतमै रोकिएका छन्। यसबाहेक, भारतीय भूभागमा पनि त्यत्तिकै संख्यामा वा त्योभन्दा बढी गाडीहरु रोकिएका हुनसक्ने उहाँको अनुमान छ । भारततर्फ रोकिएका गाडीहरुलाई बाटोमै राख्न भनिएको छ ।









