काठमाडौं,३० भदौ । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको हो।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेकोले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।सोमबार चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।
सोमबारको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित रहनु भएको छ । आज तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको छ । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।









