विर्तामोड, ३ असोज । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै १० वर्षअघि जारी भएको संविधान रक्षाका लागि खबरदारी गर्दै झापाका सञ्चारकर्मी र नागरिक अगुवाहरुले आज विर्तामोड संविधान दिवस मनाए ।
केपी ओली नेतृत्व सरकारले यो पटकको संविधान दिवसलाई तीन दिनसम्म तामझामसाथ मनाउने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, जेनजीका नाममा भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण ओली सरकार ढल्यो । सरकार ढलेसँगै संविधान दिवसका लागि तय गरिएका थुप्रै कार्यक्रम ओझेलमा परे ।
जेनजी प्रदर्शनका क्रममा दर्जनौं युवाले ज्यान गुमाउनुका साथै देशका महत्वपूर्ण प्रशासनिक र न्यायिक संरचनाहरु धुलिसात भएपछि सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । यो सरकार गठनका संवैधानिक आधारदेखि भविष्यमा हुन सक्ने संविधानमाथिका खतरालाई मध्यनजर गर्दै पत्रकार महासंघ लगायतका संस्था संविधान रक्षाका लागि जुर्मुराएका हुन् ।
एक साता अघिमात्र रणमैदानजस्तो बनेको विर्तामोडको मुक्तिचोकमा भेला भएका सञ्चारकर्मीसहित नागरिक समाजका प्रतिनिधिहरुको र्याली ‘संविधान रक्षा गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद ’ जस्ता नारा लगाउँदै विर्तामोड बजार परिक्रमा गरेकाे थियाे । र्यालीमा जिल्ला मानवअधिकार सञ्जाल, उद्योग वाणिज्य संघ, बीरता जेसीस लगायत सञ्चारसम्बद्ध विभिन्न संघ–संस्थाहरुको सहभागिता थियो ।
र्यालीपछि मुक्तिचोकमा आयोजित कोणसभाका वक्ताहरुले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा नाममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिप्रति निन्दा गरेका छन् ।










