बिर्तामोड, ३ असोज । आज असोज ३ गते संबिधान दिवस । जनताको लामो बलिदानले संबिधान पाएको दिन । शुक्रबार देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । झापाको बिर्तामोडमा संविधान दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले प्रभातफेरि सम्पन्न गरेको छ ।
पत्रकार महासंघको अगुवाईमा विभिन्न संघ संस्थाको सहभागीतामा बिर्तामोड स्थित मुक्तिचोकमा शान्तिपूर्ण ¥याली सहितको कार्यक्रम आयोजना गरिएको हो । प्रेस स्वतन्त्रता जिन्दावाद, भ्रष्ट्रचारको अन्त्य गर लगायतका नारा सहित पत्रकारहरुले मुक्तिचोकदेखि अदुवाखोला हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय अगाडिसम्म पुगेर मुक्ति चोकमा कोणसभा गरेका थिए ।
कोणसभामा महासंघका अध्यक्ष एकराज गिरीले सम्वोधन गर्दै मुलुकमा लामो संघर्ष पछि आएको परिर्वतनलाई आत्मसाथ गर्दै प्रेस स्वतन्त्रताका लागि सबै पत्रकार एक जुट हुनु पर्ने बताउनु भयो । उहाँले जनताको संविधान रक्षाका लागि एकताको जरुरी रहेको बताउनु भयो ।नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका एक दर्जन बढी संघ संस्थाको सहभागीता रहेको थियो ।
कोणसभामा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले सम्बोधन गर्नु भएको थियो । पत्रकार महासंघ झापाको अगुवाईमा भएको प्रभातफेरि कार्यक्रममा पत्रकारजन्य संघ संगठनहरु, मानव अधिकार संजाल झापासहित वैदेशिक रोजगार संघ झापा, बिर्तामोड उद्योग वाणिज्य संघ, बीरता जेसीज, वीरता लेडी जेसीज लगायतका दर्जनबढी संघ संस्थाको सहभागीता रहेको थियो ।संविधान रक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले प्रभातफेरि सहितको कार्यक्रम आयोजना गरेको महासंघ झापाका सचिव राजु पाठकले जानकारी दिनु भयो ।









