दमक, ६ असोज । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरे पनि सबै हतियार फिर्ता नगरेको प्रहरी स्रोतले बताएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एस एल आर लगायत) –१४ थान र त्यसको गोली ४ हजार भन्दा बढी , सानो हतियार( पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सर्टगन÷ग्यास गन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता नभएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको लामो नाल(एस एल आर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली , सानो हतियार( पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले बताएको छ । अरु हतियार मानव अधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले सेनालाई बुझाएको थियो । चारआलीस्थित अरिदमण गणले बुझेको हतियार प्रहरीलाई जिम्मा लगाएको बताएको छ ।
नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरण अनुसार देशभरि १२ सय ७६ थान राइफल÷पेस्तोल लुटिएका छन् । त्यस्तै ९८ हजार ४ सय ९१ थान गोली अभिलेखमा आएको छैन।









