काठमाण्डौ ,६ असोज । यात्रुबाहक सार्वजनिक गाडीमा सोमबार देखि रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताँउनु भयो ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्य स्थलसम्म जान पाउने छन् । कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी गाडीलाई भने बन्देज कायमै राखिने भएको बताइएको छ । रुट परमिट खुला आउँदो असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले जानकारी दिनु भयो ।
सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले बताएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला गाडी सोमबार देखि पूर्णिमासम्म नारायणघाट देखि काठमाण्डौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको बताएको छ ।









