काठमाण्डौ,७ असोज। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परिरहेका छन् । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिएको छ । यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।
बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।









