काठमाण्डौ,११ असोज। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण गरेको जनाएको छ । सफ्टवेयर मार्फत् यहि असोज महिनाभित्रै सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने प्राधिकरणले बताएको छ ।
सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरीएको र यसको सम्पूर्ण काम पूरा भएको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले जानकारी दिनु भयो। उहाँका अनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने÷गराउने काम प्राधिकरणले गर्ने भएको छ ।
निर्देशक पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि जानकारी दिनु भयो। सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो छ ।









