दमक ,असोज २० । गत शुक्रबार देखि परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा गम्भीर प्रभाव पारेको छ। विशेष गरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा ठूलो मात्रामा मानविय तथा भौतिक क्षति पुगेको छ ।
विपद्को यस जटिल परिस्थितिमा नेपाली सेनाले हवाई तथा स्थलीय दुवै माध्यमबाट उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ। सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार कार्य, तटबन्ध निर्माण, तथा शव संकलन जस्ता संवेदनशील कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त अवधिमा नेपाली सेनाले करिब ६०८ जना प्रभावित व्यक्तिहरूको सफल उद्धार गरेको जनाएको छ। साथै, सम्भावित क्षतिको जोखिम न्यूनिकरण गर्न पूर्वी पृतना हे।क्वा।बाट संवेदनशील क्षेत्रहरूमा सेनाको पूर्वतयारी तैनाथ गरिएको थियो। हवाई उद्धारका लागि हेलिकप्टर लगायतका हवाई साधनहरू स्ट्यान्डबाईमा राखिएकाले उद्धार कार्य थप प्रभावकारी बनेको थियो। सेनाको समयमै गरिएको तयारी तथा समन्वयले क्षति न्यूनीकरणमा निर्णायक भूमिका खेलेको देखिन्छ ।









