इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि ९.५ किलोमिटर लामो उक्त खण्डको ठेक्का तोडिएको हो। २७ करोड २२ लाख रुपैयाँ लागतको यस आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि सडक डिभिजन कार्यालय, इलामले सम्झौता अन्त्य गरेको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार पछिल्लो सात महिनामा निर्माण प्रगति तीन प्रतिशतभन्दा कम रहेपछि यो कठोर कदम चालिएको हो। लामो समयदेखि काम अलपत्र पर्दा स्थानीयलाई आवतजावतमा सास्ती हुँदै आएको थियो।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१र८२ यता हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत (पर्फर्मेन्स बन्ड) जफत गर्न सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको छ। ठेक्का तोडिए पनि सडक निर्माण कार्यलाई अलपत्र नछोडी निरन्तरता दिने तयारी मन्त्रालयले गरेको छ।आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्काको स्वीकृति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।










