उर्लाबारी, ३० कार्तिक । यो गीतको शब्द हो, पूर्वका शक्तिशाली साहित्यकार कृष्ण उदाशीको । जसलाई पूर्वकी चर्चित गायिका सृष्टि हिङमाङले प्रस्तुत गरिरहँदा माहोल सांगीतिक बनेको थियो । त्यो कार्यक्रम थियो गीतमा पनि राष्ट्रिस्तरको उपस्थिति जनाउनु भएका उदाशीको कविता संग्रह ‘पानीको पर्खाल’ को गृह विमोचनको सन्दर्भको जमघट ।
राजधानी काठमाडौंमा आफ्नो कविताको दम देखाएर पहिलो विमोचन गरिएको उदाशीको ‘पानीको पर्खाल’ को गृह विमोचनका क्रममा विम्बहरुको सुन्दर संयोजन भएको कृति रहेको यसका विश्लेषकहरुले बताएका छन् ।
झापाको दमक निवासी उदाशीको कर्म क्षेत्र मोरङको उर्लाबारीस्थित नेपाली साहित्य समाजले आयोजना गरेको कृतिको गृह विमोचन कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा इटहरीका कवि मनु मञ्जिलले उदाशीले कृतिको नाम नै ‘पानीको पर्खाल’ राखेर सुन्दर काव्यिक विम्ब प्रयोगको सुरुवात गरी कवितालाई शक्तिशाली बनाएको धारणा राख्नुभयो ।
कृतिमाथिको बहसका सन्दर्भमा धरानका कवि चन्द्र गुरुङले पनि उदाशीको शिल्पकलाको प्रशंसा गर्दै विम्बप्रतिको संयोजनले उत्कृष्ठ कृति बनेको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रसिद्ध गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यतामा उदाशीका बुबा भानुभक्त र आमा जशोदा शिवाकोटीले कलश पुज्दै दियो बालेर समेत कृतिको विमोचन गरिएको थियो ।
कार्यक्रममा ख्यातिप्राप्त कवि मिश्र बैजयन्तीले उदाशीको सक्रियताको चर्चा गर्नुभयो । सो अवसरमा कृतिमा भएका ४१ कवितामध्ये १० कविले १० कविता वाचन गरेर उदाशीको कविताको प्रभाव विस्तार गर्न सघाएका थिए । कार्यक्रममा नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षता रहेको थियो । ‘पानीको पर्खाल’ उदाशीको कविताको पहिलो र समग्रमा चौथो कृति हो ।
….









