दमक, २ पुस । झापा जिल्लामा २०८२ साल मंसिर महिनामा १ सय ६२ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामध्ये ४८ सामान्य, ५४ गम्भीर र ११ जघन्य प्रकृतिका अपराध रहेका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध ६ वटा मुद्दा दर्ता भएका छन्। यस्तै आर्थिक अपराधतर्फ ठगीका २, बैङ्किङ कसुरका १४ र आपराधिक लाभका १ गरी जम्मा १७ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। लागूऔषध नियन्त्रणतर्फ ब्राउन सुगर १२६ ग्राम ६४० मिलिग्राम बरामद गरिएको छ। यस क्रममा ४१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।
आत्महत्याको अवस्थालाई हेर्दा मंसिर महिनामा झापामा ३४ जनाले आत्महत्या गरेका छन्। तीमध्ये २१ जना झुन्डिएर, ४ जनाले विष सेवन गरेर र १ जनाले आगो लगाएर आत्महत्या गरेका छन्। लिङ्गगत विवरण अनुसार २३ महिला र ११ पुरुष रहेका छन्। उमेर समूहमा सबैभन्दा बढी ४५ वर्षमाथिका व्यक्तिहरू रहेका छन्।
सवारी दुर्घटनातर्फ १२३ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ सय १६ जना घाइते भएका छन्। दुर्घटनाबाट ६५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै ट्राफिक कारबाहीतर्फ १५ हजार ४५१ सवारी साधन चेकजाँच गर्दा २ हजार ३४७ सवारी साधन कारबाहीमा परेका छन्। यसबाट २३ लाख २९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
प्रहरीका अनुसार मंसिर महिनामा जिल्लाभर नियमित तथा विशेष प्रहरी परिचालन, गस्ती, चेकिङ, समुदाय–विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम र लागूऔषध तथा अवैध गतिविधि नियन्त्रणमा जोड दिइएको छ।









