मेचीनगर, १३ पुस । काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ ।
मेची भन्सारसहित देशभरका आठवटा भन्सारमा परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू भइसकेकाे जनाइएको छ । झापाकै भद्रपुर भन्सार कार्यालयमा पनि यो प्रणाली लागू गरिएको छ । यसअघि नै विराटनगर भन्सारमा पाइलट प्राेजेक्टका रूपमा याे प्रणाली लागू गरिएकाे थियाे ।
प्रणाली शुभारम्भ गर्दै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमिता र अनौपचारिक कारोबारमा कमी आउने बताउनुभयो । उहाँले सरकारले भन्सारमा सुशासन र करदातामैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने अपेक्षा गरिएके छ । विश्व व्यापार सङ्गठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो ।
सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
देशका अन्य भन्सार कार्यालयमा पनि क्रमिक रूपमा याे प्रणाली लागू गर्दै जाने भन्सार विभागले जनाएकाे छ ।









