दमक, २२ पुष । झापाको दमकका होटलहरुमा बसेर लागु औषध कारोबार हुन थालेको छ । होटलको कोठा लिने । केहि साथीहरु बस्ने र त्यहिबाट कारोबारको योजना बनाउने देखी लिएर सप्लाई सम्म गर्नेगरेको तथ्य फेला परेको हो ।
सोमबार दिउँसो १ बजे दमक ८ मा रहेको होटल कञ्चनजंगाको कोठा नं ८ मा बसेर लागु औषधको कारोबार गरिरहेको अवस्थामा तीन जना पक्राउ परेपछि यो तथ्य खुलेको हो ।
विषेश सुचनाका आधारमा प्रहरीले त्यहाँ छापा हान्दा पक्राउ परेकाहरुको साथबाट लागु औषध मात्रै नभएर नगद समेत भेटिएपछि कारोबारीले यहीबाट सप्लाई समेत गर्ने गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दुईजना जेन जी उमेर समुहका छन् भने एकजना जेन वाई उमेर समुहका छन् ।
मोरङ मिक्लाजुङ गाउँपालिका–३ की १९ वर्षीया मनिका राई, झापा दमक नगरपालिका–१ का २६ वर्षीय सुरज कुमाल र सोही स्थानका ३१ वर्षीय कृष्ण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न दरका नगद ३३ हजार रुपैयाँ र प्लाष्टिक बाहेक ६ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
तस्बिर : ए आई









