दमक| २५ पुस | झापाको दमकमा बालिकाको सुनको गहना लुटपाटमा संलग्न चार जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिवार दिउँसो करिब ३ बजे दमक नगरपालिका वडा नम्बर ५ लालीगुँरास टोलमा घर अगाडि बाटोमा खेल्दै गरेकी ५ वर्षीया प्यारोन लिम्बुको कानमा लगाएको सुनको रिङ सिटी सफारी प्रयोग गरी नेलकटरले काटी लुटपाट गरिएको थियो। लुटपाटपछि अभियुक्तहरू सिटी सफारीमै फरार भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शुक्रबार दिउँसो करिब ४ बजे दमक नगरपालिका वडा नम्बर ६ स्थित वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी १८ वर्षका संजय माझी, वडा नम्बर ७ बस्ने अन्दाजी १८ वर्षका निश्चल विश्वकर्मा, साविक दमक नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ३८ वर्षका मेघराज मेहेत्तर र भारत कोलकाता घर भई हाल दमक नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ५३ वर्षका रिटन दास रहेका छन्।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्बिर : एआई









