पथरी, ४ माघ / मोरङको पथरी शनिश्चरे ९ स्थित श्री सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जालले विद्यार्थीको अध्ययन र विद्यालयको गुणस्तरीय शिक्षामा सघाउन पहिलो चरणमा कम्तिमा ५ लाखको अक्षयकोष खडा गर्न कार्यविधि निर्माणको प्रक्रिया अघि बढेको छ ।
सञ्जालको सचिवालयको पछिल्लो बैठकले सबै व्याचका भूतपूर्व विद्यार्थीहरुलाई सञ्जालमा समेट्दै जाने अभियान अघि बढाउने र प्रथम चरणमा ५ लाखको अक्षयकोष खडा गर्न कार्यविधि निर्माणको निर्यण गरिएको अध्यक्ष राजकुमार राईले जनाउनु भयो । पुस २७ को प्रथम वार्षिक साधारणसभाको अवसरमा अक्षयकोषको अभियान थालिएको हो । जसमा कुमार बस्नेत, विनोदकुमार तामाङ र सरिता भट्टराई खड्काले जनही ११ हजार ५ सय रुपैयाँका दरले ३४ हजार ५ सय रकम जम्मा गर्नुभएको छ । १९ जनाले वचनदानसहित ३ लाख ६१ हजार ५ सय रुपैयाँ जम्मा हुने घोषणा भएपछि सञ्जाल उत्साहित बनेका छ । त्यसबाहेक यसअघिनै अक्षयकोषका लागि १ लाख ५० हजार रुपैयाँ जम्मा भएको थियो । वचनदानको रकम उठाउँदै ५ लाखबाट अक्षयकोष वितरण थाल्ने र कम्तिमा १० लाखसम्मको अक्षयकोष खडा गर्ने सञ्जालको योजना छ ।
बैठकले विद्यालयमा विशेष योगदान पुर्याउनेहरुलाई प्रत्येक वर्ष विद्यालयककै वार्षिकोत्सवमा सम्मानित गर्ने समेत निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष शारदादेवी बस्नेतले प्रथम वार्षिक साधारणसभा, तेस्रो पुनर्मिलन, सम्मान तथा वनभोज कार्यक्रमको खर्च विवरण प्रस्तुत गर्नुभयो । वनभोजतर्फ ४९ जनाबाट ४९ हजार रुपैयाँ संकलन भएकोमा साधारणसभा, सम्मान, वनभोज, संस्था दर्ता, लेखा परीक्षणसहितमा कुल ८६ हजार ७ सय ४४ रुपैयाँ खर्च भएकोमा अपुग खर्च यसअघिको वचतबाट मिलान गरिएको जानकारी गराउनु भयो ।
भूपू विद्यार्थीहरुबीचको एकता, सद्भावका साथै विद्यालयमा गुणस्तरीय शिक्षा तथा विद्यार्थीको पठनपाठनमा सघाउने योजना अनुरुप ०८१ पुस २७ मा भएको दोस्रो पुनर्मिलन कार्यक्रमबाट औपचारिक रुपमा सञ्जाल गठन गरी नगरपालिका कार्यालयमा दर्ता गरिएको छ ।
सञ्जालको पहलमा यसअघि विधालयमा खानेपानीको प्लान्ट जडान तथा विद्यालय रंगरोगन कार्य सम्पन्न भएको छ ।









