धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा विभिन्न पसलबाट उपभोग्य मिति समाप्त भएका खाद्यान्न, बेकरी सामग्री तथा पेय पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको हो। बरामद गरिएका सामग्रीको मूल्य ४७ हजार ४ सय ४० रुपैयाँ बराबर रहेको छ।
अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, ग्राहकलाई खरिदबिक्रीको बिलबिजक नदिइएको तथा दर्ताबिनै व्यवसाय सञ्चालन भइरहेको समेत पाइएको छ। टोलीले त्यस्ता व्यवसायीलाई तत्काल कानुनी प्रक्रिया पूरा गरेर मात्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त सहभागितामा बजारका करिब एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका खरिदार दिवस खड्काले जानकारी दिनुभयो।










