पथरी,१५ वैशाख । आफ्नो देशबाट लखेटिएर शरणार्थी बने । त्यहाँबाट पनि आफ्नो जन्मभूमि भुटान फर्किन नपाएर तेस्रो मुलुक पुनर्वासको नियति भोग्नु पर्यो । जे जस्तो अवस्था भोग्नु परेपनि आफ्नो भाषा, कला र साहित्यमार्फत राष्ट्रियता बचाउने हर कोशिस भइरहेको छ ।
यही क्रममा शरणभूमि अर्थात पुर्खाको भूमि नेपालका लागि समेत विभिन्न मौलिक सांस्कृतिक सृजनाको जमघट गराएर मौलिकताको महत्व बुझाउने काममा रेजु राई र कमला राई लागिपर्नुभयो । अमेरिका पुनर्वास हुनुभएका उहाँहरुले छोराहरु सुयोग र सुहाङको जन्मदिनमा आफूले शरण लिएको मोरङको पथरी शनिश्चरे शिविरमा खुला सामुहिक मौलिक सांस्कृतिक नृृत्य प्रतियोगिताका लागि खर्च गरिदिनुभयो । शैक्षिक, खानेपानीलगायतका क्षेत्रमा सहयोग पुर्याँउदै आउने क्रममा मौलिक संस्कृति जगेर्ना गर्नु त्यो भन्दा अजर र अमर काम हुने ठहरमा सांस्कृतिक कार्यक्रममा जोडिनु भयो । उहाँहरुले आफ्नै छोरी सुजनाको नाममा शिविरमा स्थापना गरेको सृजना डान्स सेन्टरमार्फत एउटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो ।
मौलिक संस्कृतिका एकसे एक प्रस्तुति थिए । संगिनी, डफ्फा, लाप्चासहितका लोपोन्मुख मौलिक प्रस्तुतिले कार्यक्रमस्थल एक किसिमको मेलाझैं लाग्थ्यो । १३ समूहका गरी २ सय बढी कलाकार नृत्य कलामा सहभागि भए । त्यसबीचमा नेपाली मौलिक नृत्यमा महत्वपूर्ण योगदान दिने अरुण उपत्यता सांस्कृतिक समूहका रामजी थापालाई सम्मानित गरेर अग्रजप्रतिको सम्मानमा नवपुस्ताहरुलाई उत्प्रेरित गरिएको छ ।
मोरङ, झापा र सुनसरीका सहभागिबीच युनाइटेड डान्स एकेडेमी धरानले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । उसले नगद पुरस्कार ५५ हजार ५ सय ५५, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
इन्स्पायर बोर्डिङ्ग स्कुल दमकले दोस्रो स्थान ओगट्दै २५ हजार ५ सय ५५ र मोरङ सांस्कृतिक समूह बेलबारीले तेस्रो स्थान हासिल गर्दै १५ हजार ५ सय ५५ पुरस्कार जितेको छ ।
बुल्स सांस्कृतिक समूह विराटचौकले चौथोस्थान स्वरुप ५ हजार ५ सय ५५ तथा ट्रफी हात पारेको छ । साथै, पिनाकल्स बोर्डिङ्ग स्कुल कानेपोखरी र बुम बुम सांस्कृतिक समूह सान्त्वना पुरस्कार स्वरूप ५÷५ हजार प्राप्त गरेर प्रोत्साहित बनेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले तेस्रो मुलुकमा रहेर पनि नेपालीपनको संरक्षण भएको प्रसंग अघि सार्दै नेपाली मन जहाँ गएपनि सृजनाकामाध्यमले बाँचिरहने विचार व्यक्त गर्नुभयो ।
भुटान फर्काइने पहल सशक्त बन्न नसक्दा १ लाख १५ हजारको संख्यामा अमेरिका, युरोपसहितका ८ मुलुकमा पुनर्वास गराइए । पथरी शनिश्चरे र दमकमा गरी ७ हजारको संख्यामा अझै शरणार्थी भएर बेसहारा बन्नु परेको पीडाले उनीहरुलाई सधैं पोलिरहन्छ । नेपालीभाषी भएकाले मन नेपाली नै बनेपनि शिविरमा जन्मिएकाहरु जन्मसिद्ध अधिकारबाट बञ्चित भइ समस्या भोगिरहनु परेकोमा शिविर सचिव करण राईले दुःख व्यक्त गर्नुभयो ।
मौलिकता जोगाउन समस्या भइरहेको अवस्थामा जो जहाँ रहनु परेपनि आफ्नो भाषा, कला, साहित्य र संस्कृतिमार्फत यसरी देश बचाइरहने कर्म साँच्चै महान होइनर ?









