काठमाडौँ, ७ जेठ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक भार पर्न जान्थ्यो । तर, यसपालि भने विगतमा जस्तो जम्बो टोली जाने कुरालाई निरन्तरता दिइएन । यस पटकको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा खेलाडी र अफिसियलहरुको टिममा अनावश्यक सहभागिता छैन । भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टिमले सहभागिता जनाउनेछ । जसले गर्दा राखेपलाई आर्थिक भार कम पर्ने भएको छ ।
उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमका २३ खेलाडीको सहभागिता रहेको छ । यस्तै एक व्यवस्थापक, एक मुख्य प्रशिक्षक, दुई सहायक प्रशिक्षक तथा समान एक गोलकिपर कोच, किट म्यानेजर, फिँजियो र मिडिया म्यानेजर रहेका छन् ।शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गर्नुभयो ।
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताउनुभयो । यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।









