झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस वर्ष उत्पादनमा निकै गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ६८ हजार मेट्रिक टन मकै कम उत्पादन भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा ४६ हजार १२५ हेक्टर जमिनमा मकैखेती गरिएकोमा कुल दुई लाख ८३ हजार १८७ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीका कारण मकै बालीमा ठूलो क्षति पुगेको हो। विशेष गरी झापाका बाह्रदशी, झापा गाउँपालिका र गौरादह क्षेत्रका किसानहरू यसबाट बढी प्रभावित भएका छन्। कुल क्षेत्रफलमध्ये करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा करिब डेढ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रमुख विष्टले बताए। असिनापानीका कारण वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुगेको थियो।
कुल उत्पादन घटे पनि झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ। यसले जिल्लामा आधुनिक कृषि प्रविधि र उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ।









