गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास

दमक, १२ असोज । झापाको गौरादह नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी, पूर्व शिक्षक तथा विद्यालयहरूलाई एकै भव्य समारोहका बीच सम्मान तथा पुरस्कृत गरेको छ। शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सरोकारवालाहरूलाई कदर गर्दै नगरपालिकाले यो वृहत् सम्मान कार्यक्रमको आयोजना नगरका शिक्षा शाखा प्रमुख विदुर आचार्यले जानकारी दिनुभयो ।

 

कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक तथा बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने नगरभरिका कुल २२ जना जेहेन्दार विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। जसमा सामुदायिक विद्यालयतर्फ ११ जना र संस्थागत विद्यालयतर्फ ११ जना विद्यार्थी पुरस्कृत भएका छन्। तथ्याङ्क अनुसारःकक्षा ८ (आधारभूत तह) बाट ६ जनाः सामुदायिकतर्फ ४ जीपीए ल्याउने यमन न्यौपाने, आविष्कार न्यौपाने र ३.८८ जीपीए ल्याउने सजना श्रेष्ठ तथा संस्थागततर्फ ४ जीपीए प्राप्त गर्ने प्रान्सी बस्नेत, कृतिका घिमिरे र अस्रिन श्रेष्ठ सम्मानित भएका छन्। उनीहरूलाई जनही ७ हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरियो।

कक्षा १० (एसइइ) बाट ११ जनाः सामुदायिक विद्यालयको साधारण धारतर्फ ४ जीपीए ल्याउने भूमिका दङ्गाल, ३.९५ जीपीए ल्याउने फडिन्द्र घिमिरे र सौरव घिमिरे तथा प्राविधिक धारतर्फ ४ जीपीए ल्याउने अनिष भण्डारी र स्मृति नेपाल पुरस्कृत भए। यस्तै, संस्थागततर्फ ४ जीपीए ल्याउने देसिका खतिवडा, समृद्धि सेडाई, विपिसा पाठक तथा ३.९६ जीपीए ल्याउने दिपेश ओस्ती, सम्पन्नबाबु कोइराला र श्रेयष्कर डाँगी गरी ६ जनासहित कुल ११ जनालाई जनही ८ हजार रुपैयाँ प्रदान गरियो। कक्षा १२ बाट ५ जनाः सामुदायिक विद्यालयको साधारण धारतर्फ अनिष कार्की र सर्मिला विष्ट तथा प्राविधिक धारतर्फ चेतन घिमिरे एवं संस्थागततर्फ रोश्री घिमिरे र जेनिश विष्ट गरी ५ जना विद्यार्थीलाई जनही ९ हजार रुपैयाँसहित सम्मान गरियो।

सोही अवसरमा नगरका ४ जना उत्कृष्ट शिक्षक, १ जना बालविकास शिक्षक र १ जना उत्कृष्ट विद्यालय कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। साथै, शिक्षण पेसाबाट अनिवार्य अवकाश प्राप्त ११ जना पूर्व शिक्षक र ३० वर्षभन्दा बढी समयदेखि अध्यापनरत १ जना शिक्षिकालाई दीर्घ सेवा सम्मान अर्पण गरिएको थियो। यस्तै एस इ इमा ४ जीपीए नतिजा दिन सफल ४ वटा माध्यमिक विद्यालय र उत्कृष्ट ३ वटा आधारभूत विद्यालयलाई समेत जनही १५ हजार रुपैयाँसहित कदर–पत्र प्रदान गरियो।

 

समारोहलाई सम्बोधन गर्दै गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावक तथा व्यवस्थापन पक्ष एकआपसमा जोडिएको उल्लेख गर्नुभयो। नगर प्रमुख सुवेदीको भनाइ थियो “शिक्षा क्षेत्रको समग्र सुधार कुनै एउटा पक्षको प्रयासले मात्र सम्भव हुँदैन। यसका मुख्य तीन खम्बा भनेका विद्यार्थी, शिक्षक र अभिभावक हुन्। आज हामीले एकै मञ्चबाट मिहिनेती विद्यार्थी, समर्पित शिक्षक, सहयोगी कर्मचारी र अनुभवी पूर्व शिक्षकहरूलाई सम्मान गरेका छौँ।

यो सम्मानले तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास छ। नगर उप–प्रमुख जलवर्षा राजवंशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख कुमार बस्नेत लगायत जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास