काठमाडौं, २१ असार । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले ४२ बुँदे प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको प्रगति विवरणअनुसार शिक्षा प्रशासन, परीक्षा प्रणाली, विश्वविद्यालय सुधार तथा सेवा प्रवाहका क्षेत्रमा विभिन्न सुधारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र र विश्वविद्यालय तहको नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था लागू गरिएको छ। यस व्यवस्थाले नतिजा प्रतीक्षाको लामो समय घट्ने विश्वास लिइएको छ।
त्यस्तै सार्वजनिक बिदाका दिनसमेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरण सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ।
जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा रोजगारी, सीप विकास, मनोसामाजिक परामर्श र पुनस्र्थापना कार्यक्रम पनि सुरु गरिएको उल्लेख छ।
विश्वविद्यालय सुधारका लागि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिसम्बन्धी प्रतिवेदन–२०८१ कार्यान्वयन सुरु गरिएको छ। साथै विभिन्न विश्वविद्यालय तथा शैक्षिक निकायसँग सम्बन्धित कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलाई भवन तथा जग्गा उपलब्ध नगराउने नीति लागू गरिएको तथा परिसरभित्र रहेका राजनीतिक दलसँग सम्बन्धित चिन्ह र संकेत हटाउने कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।









