प्रश्नहरुको जवाफ दिदै : तिमिल्सिना

काठमाडौँ,२२ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षणसँग सम्बन्धित छपाई स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि रु २२ करोड विनियोजन गरिएको बताउनु भयो ।

राष्ट्रियसभा सदश्य रोश्नी मेचेले दुर्गम क्षेत्रका विद्यार्थीले अझै कापी–किताबसमेत सहज रूपमा प्राप्त गर्न नसकेको अवस्थामा सञ्चार तथा सूचना मन्त्रालयअन्तर्गत ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ खरिदका लागि रु १५ करोड तथा सुरक्षण मुद्रण प्रेसका लागि रु २२ करोड विनियोजन गर्नुको औचित्यबारे प्रश्न उठाउनु भएको थियो ।

उक्त प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चालु आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मन्त्रालयअन्तर्गतका प्रत्येक शीर्षकमा स्वयं सहभागी भई विस्तृत छलफल गरेको उल्लेख गर्दै जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । उनले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुुने बताउनुहुँदै खर्चमा मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोसमेत बताउनु भयो ।

त्यस्तै, शैक्षिक सामग्रीको आवश्यकता र सञ्चार पूर्वाधारमा गरिने लगानी फरक बजेट शीर्षक, फरक प्रकृति र फरक उद्देश्यका विषय भएकाले ती एकअर्काका विकल्प नभएको स्पष्ट पारे । साथै उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भएको हो ।

आगामी आर्थिक वर्षका लागि सुरक्षण मुद्रण केन्द्रले पाएको बजेट उपभोग खर्च नभई कानुनले तोकेको दायित्व पूरा गर्न गरिएको पुँजीगत लगानी भएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनु भयो । सुरक्षण मुद्रण सम्बन्धी कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षण दस्तावेजको मुद्रण तथा उत्पादन गर्ने एकमात्र जिम्मेवार निकाय सुरक्षण मुद्रण केन्द्र रहेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षमा केन्द्रले हालसम्म २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको जानकारी दिनु भयो ।

आगामी आर्थिक वर्षदेखि अन्तःशुल्क टिकट, नागरिकता र राष्ट्रिय परिचयपत्रलगायत थप सुरक्षण दस्तावेजको उत्पादनसमेत केन्द्रमार्फत गर्नेगरी तयारी भईरहेको र विद्यमान उत्पादन क्षमताले बढ्दो माग धान्न नसक्ने उहाँको भनाइ थियो । सञ्चारमन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई व्यावसायिक रुपमा सञ्चालन गर्नसके हाल विदेशमा मुद्रण भइरहेका सुरक्षण दस्तावेज स्वदेशमै उत्पादन गर्न सकिने, विदेशी मुद्रा बचत हुने, मुद्रण सेवाबाट राजस्व आर्जन हुने तथा लगानी रकमको राम्रो प्रतिफलसमेत आउने बताउनु भयो । यो उपभोगमा खर्च गर्ने परियोजना नभई स्रोत सिर्जना गर्ने लगानी भएको उहाँको भनाइ थियो ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यसबाट राज्यको वित्तीय क्षमता अभिवृद्धि भई शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रका प्राथमिकतामा थप लगानी गर्ने आधार बलियो हुने विश्वाससमेत व्यक्त गर्नु भयो ।

त्यस्तै, सञ्चार पूर्वाधारमा गरिने लगानीले दीर्घकालमा राजस्व अभिवृद्धि, प्राविधिक क्षमता विस्तार तथा राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो । सञ्चार मन्त्रालयले आगामी आर्थिक वर्षका लागि खरिद योजना बनाएको ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ सामान्य सवारीसाधन नभई ‘रेडियो स्पेक्ट्रम’ अनुगमनका लागि प्रयोग हुने चलायमान प्रयोगशाला रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले रेडियो फ्रिक्वेन्सी वा विद्युतीय चुम्बकीय तरङ्गलाई प्रत्यक्ष रूपमा देख्न वा मापन गर्न नसकिने भएकाले त्यसको अनुगमनका लागि अत्याधुनिक प्रणाली आवश्यक पर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को सिफारिसअनुसार प्रत्येक मुलुकले रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणाली सञ्चालन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै उहाँले नेपालभर स्थायी अनुगमन प्रणाली स्थापना गर्न तत्काल ठूलो लगानी आवश्यक पर्ने भएकाले आवश्यकता अनुसार देशका विभिन्न स्थानमा परिचालन गर्न सकिने मोबाइल फ्रिक्वेन्सी मनिटरिङ प्रणाली खरिद गर्न लागिएको जानकारी दिनु भयो ।

त्यसैगरी, ४जी र ५जी मोबाइल सेवा, डिजिटल प्रसारणलगायत आधुनिक वायरलेस सेवाको नियमन तथा अनुगमन, दूरसञ्चार सेवाको गुणस्तर सुधार, अवैध उपकरणको प्रयोग नियन्त्रण तथा लाइसेन्स र स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्नसमेत उक्त प्रणाली उपयोगी हुने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले फ्रिक्वेन्सी तथा स्पेक्ट्रम व्यवस्थापनबाट सरकारलाई प्रत्यक्ष रूपमा वार्षिक करिब रु चार अर्ब १५ करोड राजस्व प्राप्त भइरहेको तथा यस क्षेत्रले अप्रत्यक्ष रूपमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब एक दशमलव पाँच प्रतिशत योगदान पुर्याइरहेको जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल

काठमाडौं,२२ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा

काँकडभिट्टा नाकामा गृहमन्त्रीको छड्के निरीक्षण, प्रहरीमाथि अवैध असुलीको गुनासोपछि केरकार

काँकडभिट्टा , २२ असार ।  झापाको काँकडभिट्टा सीमा क्षेत्र र मेची भन्सार कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीमाथि तस्करीमा संलग्नता र अवैध रकम असुलीको

एआईको तीव्र विकासबीच पत्रकारिताको भविष्यबारे बहसः सहयोगी कि चुनौती?

एआई (कृत्रिम बुद्धिमत्ता) को तीव्र विकासले विश्वभर पत्रकारिताको भविष्यबारे बहस चर्किँदै गएको छ। कतिपयले यसलाई रोजगारी खोस्ने खतरा भन्दै डर व्यक्त गरिरहे पनि चीनको कुइचोउ

झापामा कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीको कडा अभियान

झापा,२२ असार।  झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान

बिर्तामोड अनारमनी ग्रिडमा प्राविधिक खराबी, अवरोधप्रति सांसदको ध्यानाकर्षण

बिर्तामोड,२२ असार। संसद बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताएका

पूर्वी नेपालमा गृहमन्त्रीको अनुगमन‘ झापा बाहुनडाँगीदेखि सुरक्षा समीक्षासम्म के–के भयो ?

काठमाडौं ,२२ असार। गृहमन्त्री सुधन गुरुङको पूर्व भ्रमणका क्रममा विभिन्न स्थानमा अनुगमन तथा समीक्षा गरिएको छ। भ्रमणका क्रममा उहाँले सुरक्षा अवस्था, मानव–वन्यजन्तु द्वन्द्व तथा स्थानीय