काँकडभिट्टा , २२ असार । झापाको काँकडभिट्टा सीमा क्षेत्र र मेची भन्सार कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीमाथि तस्करीमा संलग्नता र अवैध रकम असुलीको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीलाई केरकार गरेका छन्।
निरीक्षणका क्रममा एक स्थानीय महिलाले गृहमन्त्रीसमक्ष प्रत्यक्ष भेट गरी प्रहरीका ‘घुमुवा’हरूले मासिक रूपमा रकम असुल्ने र पैसा लिएर सामान ओसारपसार गर्न दिने गरेको आरोप लगाएकी थिइन्।
उनले केही प्रहरीको नामसमेत किटान गरेकी थिइन्।
सोही गुनासोपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईंलाई गृहमन्त्रीले बोलाएर सोधपुछ गरेका थिए। गृहमन्त्रीले मोबाइल टेबलमा राख्न लगाई अवैध असुलीमा संलग्न भनिएका प्रहरी तथा अन्य व्यक्तिलाई तत्काल उपस्थित गराउन निर्देशन दिएको स्रोतले जनाएको छ।
तर डीएसपी चापागाईंले भने गृहमन्त्रीले आफ्नो मोबाइल नियन्त्रणमा लिएको दाबी अस्वीकार गरेका छन्। उनले आफू जिल्ला प्रहरी कार्यालय झापा जाँदै गरेको प्रतिक्रिया दिएका छन्।
यसैबीच, झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले गृहमन्त्रीको निर्देशनअनुसार कार्यक्रम भएकाले डीएसपी चापागाईंलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको स्पष्ट पारेकी छन्।
मेची भन्सार कार्यालयमा गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपानेसहितका प्रशासनिक अधिकारीलाई बाहिर राखी प्रहरी अधिकारीसँग छुट्टै छलफल गरेको बताइएको छ।
भन्सार कार्यालयका एक अधिकृतका अनुसार प्रहरीविरुद्ध गुनासो आएपछि गृहमन्त्रीले तत्काल सोधपुछ गर्दै आवश्यक निर्देशन दिएका हुन्। उनले भने, “पछि बुझ्दा प्रहरीका विरुद्ध केही गुनासो आएपछि मन्त्रीज्यूले तुरुन्तै एक्सन लिनुभएको बुझियो।”









