दमक, २३ असार | – झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पले डसेपछि एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७:५० बजे कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती अन्दाजी ४० वर्षीया सरस्वती मगरलाई आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।
सर्पदंशपछि उनलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमक लगिएको थियो।
उपचार भइरहेको अवस्थामा राति करिब १०:२५ बजे इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा उपचार केन्द्रमा खटिएको थियो।
उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले सरस्वती मगरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
तस्बिर : ए आई









