अस्थायी कर्मचारी नहटाउन सरकारलाई सांसद राईको आग्रह

काठमाडौँ, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद राजेन्द्र कुमार राईले करार तथा अस्थायी कर्मचारीहरूलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गर्नुभएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीहरूसँग भएको आफ्नो संवादबारे सदनलाई जानकारी गराउनुभयो। सांसद राईले उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो।

बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू भेला भएर छलफल गरिरहनुभएको थियो। मैले के भयो भनी प्रश्न गर्दा उहाँहरूले भन्नुभयो– हाम्रो जिन्दगी बितिसक्यो। हामी करार र अस्थायी कर्मचारी भएर राज्य र जनताको सेवा गरिरहेका छौँ। नयाँ सरकारले मुलुक बनाउन आएको भन्दै हामीलाई निकाल्ने कुरा गरिरहेको छ। यसले हाम्रो जीवन बर्बादीतर्फ जाने अवस्था सिर्जना भएको छ। हामीले यो ठाउँ छाड्नुपर्‍यो भने ठूलो समस्या हुन्छ।”

सांसद राईले सभामुखमार्फत सरकारलाई करार तथा अस्थायी कर्मचारीलाई नहटाउन आग्रह गर्दै उनीहरूको लामो समयदेखि उक्त सेवामै जीवन बितेको उल्लेख गर्नुभयो।

“अहिलेको सरकारलाई म सभामुखमार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ रोजगारी पाइरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौँ भने परिस्थिति झन् जटिल बन्छ,” उहाँले भन्नुभयो।

सांसद राईले विगतमा पर्याप्त तयारी बिना सुकुम्बासी हटाउँदा समस्या उत्पन्न भएको उदाहरण दिँदै अस्थायी कर्मचारी हटाउने निर्णयले पनि त्यस्तै जटिल अवस्था निम्त्याउन सक्ने चेतावनी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास