काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लिम्बुले केही दिनदेखि केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, इटहरीबाट प्रवाह हुने सेवा अवरुद्ध भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘यातायात व्यवस्था विभाग काठमाडौँमा रहेको केन्द्रीय सर्भरमा समस्या आएको कारण केही दिनदेखि यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, इटहरी, सुनसरीको सेवा प्रवाह अवरुद्ध भएकोले तराईको प्रचण्ड गर्मीमा हजारौँ सेवाग्राहीहरूले दैनिक सास्ती भोग्नुपरिरहेको छ । तसर्थ, जति सक्दो चाँडो जनताको भावना र मर्मलाई बुझेर यो समस्याको पहल होस् भनी सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु ।’
उहाँले सेवा अवरुद्ध हुँदा तराईको अत्यधिक गर्मीमा हजारौँ सेवाग्राही दैनिक सास्ती खेप्न बाध्य भएको उल्लेख गर्दै जनताको समस्या र संवेदनालाई मध्यनजर गर्दै यथाशीघ्र सेवा नियमित गर्न सरकारसँग माग गर्नु भएको छ ।









