काठमाडौं,१० भदौ । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्ने देखिएको छ । प्रशासनले नदी किनारमा माछा मार्ने, बालुवा निकाल्ने वा अन्य काममा संलग्न मजदुरहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । साथै, नदी तटीय क्षेत्रमा सञ्चालित आयोजनाहरू, कार्यालयहरू र त्यहाँ बसोबास गर्ने आम जनसमुदायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ ।
कुनै पनि विपद्जन्य घटना घटेमा वा जोखिम देखिएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अपिल गरेको छ ।आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरीको १११४, र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ । प्रशासनले अर्को सूचना नआएसम्म नदी आसपासका क्षेत्रमा नजान र सुरक्षित रहन सबैलाई सचेत गराएको छ ।









