काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन लागिएको हो।हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ। यमराजले कागमार्फत संसारका गतिविधिबारे जानकारी लिने विश्वास छ। त्यसैले कागलाई खुसी बनाएर पूजा गर्दा यमराजसमक्ष शुभ समाचार पुग्ने धार्मिक विश्वासका साथ यो पर्व मनाउने चलन छ।
काग घरको छत, आँगन वा वरपर आएर कराउँदा त्यसलाई कुनै खबरको सङ्केतका रूपमा लिने परम्परा पनि छ। काग कराउँदा शुभ बोलोस् भन्ने कामनासहित मीठा खानेकुरा दिने चलन नेपाली समाजमा प्रचलित छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयका बेला त्रयोदशी तिथि परेकाले आज काग तिहार मनाउने निर्णय गरिएको हो। तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक भने शुक्रबार साँझदेखि नै सुरु भएको छ।तिहारसँग यमराजको पूजा र यमदीपदानको परम्परा पनि जोडिएको छ। असल कर्म गर्नेलाई धर्मराजका रूपमा संरक्षण र खराब कर्म गर्नेलाई दण्ड दिने यमराजको मान्यताअनुसार परिवारका सदस्यको नाममा दीपदान गर्ने चलन छ।
यम यातनाबाट मुक्ति मिल्ने विश्वासमा शुक्रबार साँझदेखि नै दक्षिण दिशातर्फ फर्काएर यमदीपदान सुरु गरिएको छ।यस वर्ष तिथिको घटबढका कारण धनतेरस पनि शुक्रबार नै मनाइएको थियो। धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास छ। काग तिहारसँगै सुरु भएको यमपञ्चकमा अब क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार र भाइटीका मनाइने परम्परा छ।









