काठमाडौ , १० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभएको छ।प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइसकिएको जानकारी दिनुभएको हो।
उहाँका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उहाँले उल्लेख गर्नुभएको छ।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। स्थानीयलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ।
सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहको भनाइ छ।बाढीपछि आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको उहाँले जानकारी दिनुभएको छ।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट आउने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गर्नुभएको छ। थप जानकारी तथा राहतसम्बन्धी सूचनाका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनु भएको छ।









